चितवन–१ बाट पटक–पटक निर्वाचित हुनुभएका नेकपा (एमाले)का नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे यस पटक पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पराजित गर्नुभयो । सोही क्षेत्रमा नेपाली कांग्रेसबाट विश्व पौडेल उम्मेदवार हुनुहुन्थ्यो । पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिनुभएको थियो । चितवन–१ मा ढकालले ३४ हजार १८९, पाण्डेले २६ हजार ६०८ तथा पौडेलले २४ हजार ९९० मत पाउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता बलबहादुर केसी पराजित हुनुभएको छ । उहाँलाई नेकपा (एमाले)का मानवीर राईले पराजित गर्नुभएको हो । केसीले १६ हजार ५४५ मत पाउँदा मानवीरले १९ हजार ३२४ मत पाएर निर्वाचित हुनुभयो । २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा लगातार तीन पटक निर्वाचित हुनुभएका केसी २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा सोलुखुम्बु–१ बाट निर्वाचित हुनुभएको थियो ।