विराटनगर । ‘१० वर्ष भगेलै एकटा रस्ता तक बनाक नै देलकै य, फेर एलै य भोट मागैला।’ मोरङको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजकुमार यादव घरदैलोमा रहँदा विराटनगर-१३ की निर्मला देवी पोद्वारले यसो भन्दै गीत गुनगुनाइरहेकी थिइन्।

उनको यो भनाइले राजनीतिक दलप्रतिको उनको वितृष्णा स्पष्ट झल्किरहेको थियो। कटाक्षपूर्ण सो भनाइले राजनीतिक दलको पछिल्लो ५ वर्षको कार्य सम्पादनप्रति उनको असन्तुष्टि व्यक्त गरिरहेको थियो।

नभन्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यादव भोट माग्दै उनको घरदैलोमा आइपुगे। हात जोड्दै नम्र शैलीमा उनले सोधे, ‘जसपा नेपालके तरफ से यी बेर यी क्षेत्रके उम्मेदवार उठल छियौं। भोट देबी कि नै?’

‘बच्चाबुच्ची सब छोटेछोटे छेलै। सोहो स पहिले स यी रस्ता खराब छै। पानी के निकास नै छै। बहुत के भोट देलियै। कहाँ किछो क देलिह?,’ ६४ वर्षीया पोद्वारले जवाफ फर्काउँदै भनिन्, ‘बर्खा मे घरमे पानी घुसै छै। पानी जमै छै। खोई समाधान। भोट द क फाइदा?’

‘यी से पहिले जे जितके गेलौ, कि केलकौ नै केलकौ हमरा बढिया से मालुम छै। सेहे समस्या सबके समाधान के खातिर चुनाव मे उठर छियौ। तोहरे सबके बेटा छियौ,’ पोद्वारलाई आश्वस्त बनाउँदै यादवले भने, ‘यी बेर छाता छाप मे मतदान कैरके काम करैके अवसर दे। गुनासो करैके मौका नै देबौ।’

यादवको आश्वासनप्रति विश्वस्त हुँदै निर्मलाले यसपटक छाता छापमा मतदान गर्ने प्रतिबद्धता जाहेर गरिन्। निर्मलाको प्रतिबद्धतामा सहमति जनाउँदै यादव अन्य मतदाताको घरदैलोमा भोट माग्न हुँइकिए।

अगाडि अगाडि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजकुमार यादव र पछिपछि कार्यकर्तासहितका केही स्थानीय। ३ वटा सिटी सफारीमा जडान गरिएका साउण्ड बक्स र ती साउण्ड बक्समा छाता छापमा मतदानका निम्ति बजिरहेको मैथिली तथा भोजपुरी गीत। आइतबार बिहान करिब १० बजे घरदैलोका क्रममा क्षेत्र नं. ५ को विराटनगर-१३ स्थित सैनिक टोलमा देखिएको यो दृश्यले चुनाव नजिकिँदै गएको आभास दिलाइरहेको थियो।

यसपटकको निर्वाचनमा मण्डल र यादवबीच पुनः एकपटक कडा प्रतिस्पर्धा हुने देखिन्छ। मण्डल पुनः एकपटक जित निकालेर ह्याट्रिक कायम गर्ने तयारीमा छन् भने यादव हारको बदला लिने दाउमा छन्।
६ संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. ५ बाट यसपटक पुनः जनता समाजवादी पार्टीका राजकुमार यादवले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्। मोरङमा एमाले र जसपाको गठबन्धन छ। उनी गठबन्धनका साझा उम्मेदवार हुन्।

दुईपटकसम्म सो क्षेत्रबाट पराजय व्यहोरेका जसपाका पुराना नेता यादवलाई गठबन्धनले पुनः एकपटक चान्स दिएको छ। नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डलसँग २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभामा थोरै मतान्तरले उनी पराजित भएका थिए। निरन्तर दुईपटकसम्म पराजय व्यहोरेका उनी पुनः एकपटक उनै मण्डलसँग प्रतिस्पर्धा गर्न लागिरहेका छन्।

क्षेत्र नं. ५ मा यसपटक संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्। यसपटकको निर्वाचनमा मण्डल र यादवबीच पुनः एकपटक कडा प्रतिस्पर्धा हुने देखिन्छ। मण्डल पुनः एकपटक जित निकालेर ह्याट्रिक कायम गर्ने तयारीमा छन् भने यादव हारको बदला लिने दाउमा छन्।

एमालेबाट राजनीतिक सुरु गरेका यादव मधेस आन्दोलनको क्रममा मधेसी जनअधिकार फोरमसँग जोडिएर सक्रिय राजनीतिमा आएका हुन्। फोरममा जोडिएपछि उनी मधेस आन्दोलनको सखुवा गाविसको संयोजक भए। रंगेली केन्द्रित आन्दोलनमा उनको सक्रिय भूमिका थियो।

दर्ता प्रक्रियापछि पार्टीले आधिकारिता प्राप्त गरेपछि उनी गाविसको अध्यक्ष बने। त्यसपछि क्षेत्र नं. ४ को क्षेत्रीय सदस्य, क्षेत्रीय पदाधिकारी र मोरङ जिल्ला सदस्य हुँदै जिल्लाको सचिवालय सदस्यसमेत भएका यादव हालः जसपा नेपालको मोरङ जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्।

यसपटक पुनः चुनाव लड्दै गरेका यादव आफूलाई जनताको राम्रो सहानुभूति प्राप्त भएको बताउँछन्। घरदैलोमा प्राप्त जनताको प्रतिक्रियाले आफ्नो जित सुनिश्चित भइसकेको उनको भनाइ छ। ‘यो गठबन्धनबाट जनतामा पनि राम्रो उत्साह छ। मुलुकको आवश्यकता अनुरुप नै यो गठबन्धन भएको हो,’ अन्नपूर्णसँग उनले भने, ‘घरदैलोमा जनताले दिएको प्रतिक्रिया सकारात्मक छ। यो गठबन्धनले पनि राम्रो सन्देश प्रवाह गरिरहेको छ भन्ने कुरामा विश्वस्त छु।’

एमाले र जसपाको साझा उम्मेदवारको रूपमा पुनः एकपटक चुनावी ब्याटलमा उत्रिएका यादव आफूले निर्वाचन जितेपछि जनतालाई गुनासो गर्ने मौका नदिने बताउँछन्। शिक्षा, स्वास्थ्य, रोजगारी र कृषकको समस्या समाधान लगायतका विषयलाई उनले चुनावी एजेण्डा बनाएका छन्।

‘यो क्षेत्र विशेषगरी कृषक वर्गहरूको बाहूल्यता रहेको क्षेत्र हो। यहाँ किसानहरु निकै पीडामा छन्। समयमा खाद्यमल र किटनाशक औषधि पाइँदैन,’ उनले भने, ‘म जितेर गएपछि यो समस्याको दीर्घकालीन समाधान गर्छु।’

विराटनगरको वडा नं. १३ देखि १८, जहदा गाउँपालिकाको १ देखि ७, धनपालथानको १ देखि ७ र रंगेलीको ४, ५, ६ र ७ नं. वडा उनको निर्वाचन क्षेत्र हो। बिहान ६ बजेदेखि राति १ बजेसम्म हालः उनी जनताकै घरदैलोमा भेटिन्छन्। मधेसी र त्यसमा पनि कृषकहरूको बाहुल्यता रहेको यस क्षेत्रको समसामयिक विषयलाई उनले आफ्नो चुनावी एजेण्डा बनाएका छन्।

विदेश पलायन भइरहेका युवाहरुका निम्ति रोजगारी सिर्जना र विराटनगर जुट मिल्स पुनः सञ्चालन र खेल क्षेत्रलाई विशेष प्राथमिकता लगायतका मुद्दालाई समेत यादवले आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन्। अन्य उम्मेदवारझैँ उनले पनि विराटनगर विमानस्थल विस्तारको विषयलाई आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेटेका छन्।

यादव सँगसँगै पुनः एकपटक चुनाव जितेर ह्याट्रिक गर्ने प्रयासमा रहेका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माओवादीका मण्डललाई पनि अहिले भेटन असहज छैन। अहिले उनी जनताकै घरदैलोमा भेटिन्छन्। आइतबार उनको निर्वाचन क्षेत्र वडा नं. १४ स्थित जतुवा पुग्दा उनले जनतासँग भोट मागिरहेका थिए।

‘दिपेन भाइ! ए दिपेन भाइ! कता हो?’

‘को हो हँ? म खाना पकाउँदै छु,’ के थियो? भन्दै उनी घरभित्रबाटै चिच्याए।

‘म तपाईँको क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार शिवकुमार मण्डल हो। भोट माग्न आएँ है।’

आइतबार बिहान करिब ११ बजे विराटनगर-१४ पुग्दा दिपेन भाइ अर्थात् दिपेन्द्र मण्डल खाना पकाउन व्यस्त थिए। बाहिर निस्किने बित्तिकै उनले उम्मेदवारलाई मज्जाले नियाले। अनि भने, ‘ओहो शिवकुमार दाइ। के छ खबर? आराम हुनुहुन्छ?’

‘मेरो ठीक छ। भाइको के छ? कहिले फर्कियौ साउदीबाट?,’ मण्डलले पुनः प्रश्न तेर्स्याए।

‘म पनि आरामै छु दाइ। हप्ता दिन भयो साउदीबाट फर्किएको।’

‘चुनावमा उठेको छु। सक्दो सहयोग गर्नुपर्छ है,’ मण्डलले भने।

‘भन्नै पर्दैन नि दाइ। पछिल्लोपटकको चुनावमा भोट हाल्न पाएको थिइन। यसपटक पक्का,’ दिपेन्द्रले चुनावमा आवश्यक सहयोग गर्ने आश्वासन दिएपछि मण्डल अघि बढे।

जनताको दुःख साट्ने र समस्या सम्बोधन गर्ने आश्वासनसहित घरदैलोमा व्यस्त रहेका मण्डलले जनताको जनजीविकासँग जोडिएका विषयहरुलाई प्रमुख एजेण्डा बनाएका छन्। आगामी मंसिर ४ हुने संसदीय निर्वाचनबाट स्थायी सरकार निर्माण गर्ने उनको प्रतिबद्धता छ।

‘संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि आएको संकट समाधानका निम्त्ति बनेको गठबन्धनलाई साथ लिएर चुनावी मैदानमा छु। पहिलो एजेण्डा पनि त्यही नै हो,’ आइतबार अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘त्यसपछि शिक्षा, स्वास्थ्य, बाटोघाटो, किसान र मजदुरका समस्याहरुलाई पनि मैले आफ्नो चुनावी एजेण्डाको रुपमा प्रस्तुत गरेको छु। विगतमा ३ तहको सरकारको समन्वय र सहकार्यबाट जुन किसिमको काम हुनुपर्थ्यो, त्यो भएन। जनताले त्यसप्रति प्रश्नचिन्ह खडा गरेका छन्। त्यसलाई स्वभाविक ठानेका छौं। त्यो अवस्था पुनः दोहोरिन नदिने अब स्थायी सरकार बनाउने प्रतिबद्धता हामीले व्यक्त गरेका छौं।’

प्रतिनिधिसभा सदस्य पदका निम्ति मोरङ क्षेत्र नं. ५ बाट यसपटक भने ८ स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!