एमालेभित्र अन्तरविरोधको पहाड
चुनावी माहौल निकै अगाडि बढिसके पनि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेले चुनावी अभियानलाई प्रभावकारी बनाउन सकेको छैन । स्थानीय कमिटीमा देखिएको अन्तरविरोध समाधान हुनेभन्दा बढोत्तरी भइरहेकोे छ । उम्मेदवारी टुंगो लागेकै भोलिपल्ट एमाले मोरङका सचिवालय सदस्य मेघराज कट्टेलले पदबाट राजीनामा दिए । उनले दिएको राजीनामा स्वीकृत भएको छैन तर उनी एक महिना यता पार्टी गतिविधिमा संलग्न पनि भएका छैनन् । गत स्थानीय तह निर्वाचनमा उनी पार्टीका तर्फबाट मेयर पदका बलिया दाबेदार थिए । तर, उनले टिकट पाएनन् । अहिले पनि प्रदेशसभाका लागि कट्टेलको बलियो दाबी थियो । तर, म्यानपावर व्यवसायी डिबी कार्कीलाई टिकट दिएर जनस्तरमा प्रभाव राख्ने कट्टेललाई टिकट दिनबाट रोकेको आरोप प्रतिनिधिसभाका उम्मेदवार ऋषिकेश पोखरेलले खेपिरहेका छन् । रतुवामाई नगरपालिका ८ र ९ नम्बर वडामा राम्रो प्रभाव राख्ने कट्टेल निष्क्रिय बसेपछि एमालेले इटहरा क्षेत्रमा चुनाव प्रचारसमेत गर्न सकिरहेको छैन ।
कुनैबेला नेता पोखरेलसँग निकट रहेर सहयोग गरेका र एमाले २ नम्बर क्षेत्रका इन्चार्ज गोपी चापागाईं पनि अहिले चुनावी गतिविधिमा देखिएका छैनन् । स्थानीय तह निर्वाचनमा मेयर पदका दाबेदार रहेका चापागाई नेता पोखरेलसँग असन्तुष्ट छन् । उनी चुनावी गतिविधिमा नहिडपछि पोखरेल निकै पटक चापागाईंको घर पुगेर चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । तर, चापागाईंले सकारात्मक जवाफ दिइरहेका छैनन् । ‘कामरेड म तपाईंसँग हिडें भने चुनाव हार्नुहुन्छ, त्यसैले मलाई घरमै बस्न दिनुहोस् त्यसो भए तपाईं जित्न सक्नुहुन्छ ।’
केही दिन अघि एमाले रतुवामाईका नगर कमिटी सचिव नेवालाल राजवंशीले पदबाट राजीनामा दिए । उम्मेदवारहरुले पार्टी कमिटीलाई थाहै नदिइ चुनावी अभियान चलाउने गरेको भन्दै असन्तुष्टी जनाएर राजीनामा गरेका राजवंशी अहिले चुनावी अभियानमा त हिडेका छन् तर भित्रैदेखि सक्रिय बनेका छैनन् । स्थानीय एक एमाले कार्यकर्ता भन्छन् ‘रिसाएका नेता– कार्यकर्ता फकाउँदै उम्मेदवारको समय बर्बाद भइरहेको छ, जसरी चुनावी अभियान अघि बढ्नु पर्ने थियो त्यसरी बढ्ने छाँट छैन ।’
रतुवामाईकै झुर्किया तर्फ पनि एमालेभित्र कडा अन्तरविरोध रहेका कारण पोखरेल अप्ठ्यारोमा छन् । हिजो वडाध्यक्षका उम्मेदवार बनाएका दुर्गा विष्टलाई पोखरेलकै संलग्नतामा चुनाव हराएको आरोप लगाएर विद्रोह गरेका युवाहरु यतिबेला डिबी कार्कीको चुनाव प्रचारमा हिडेपनि पोखरेलसँग व्यापक असन्तुष्टी व्यक्त गरिरहेका छन् । उनीहरु यस पटक पोखरेललाई सहयोग गर्ने पक्षमा देखिदैनन् । जसले तल्लो क्षेत्रमा पनि पोखरेलको अवस्था कमजोर बन्दै गएको देखिएको छ ।
रतुवामाई तर्फमात्र होइन सुनवर्षी नगरपालिका वडा नम्बर ८ मा पनि एमालेमा त्यस्तै अन्तरविरोध छ । तत्कालीन एमालेका जिल्ला कमिटीका सदस्य कप्लेश्वर राजवंशी नेकपा एसमा क्रियाशील भएर लागेका छन् ।
२०७४ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित नुरुल आलम माओवादीमा प्रवेश गरेपछि त्यहाँ एमाले कमजोर बन्यो र गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ८ नेपाली काँग्रेसले जित्यो ।
सुनवर्षीको नगरसचिव बरतलाल राजवंशी यतिबेला असन्तुष्ट छन् । स्थानीय तहको निर्वाचन अघिबाटै पोखरेलले माओवादीका श्याम राजवंशीलाई पार्टीमा भित्र्याएर मेयर बनाएपछि आफ्नालाई बाइपास गरेको गुनासो तीब्र छ । बरतलाल लगायतको समूहले पनि पोखरेललाई चुनावमा सहयोग गर्ने अवस्था नदेखिएको स्थानीयहरुले बताए । त्यसमा पनि को टोलीले पनिसमेतको टोली पोखरेलसँग असन्तुष्ट छन् । सुनवर्षी ६ बाट एमालेका ६० जना सक्रिय कार्यकर्ता भर्खरै नेपाली काँग्रेसमा प्रवेश गरेपछि पोखरेल झन् अप्ठ्यारोमा परेका छन् । त्यो वडा काँग्रेसले जित्यो ।
हारेपछि प्रतिशोध !
२०७० सालमा काँग्रेसको किल्ला भत्काएर चुनाव जितेका पोखरेलले २०७४ सालमा माओवादीसँग गठबन्धन बनाएर चुनाव लढ्दा पनि हारे । उनले मात्र हारेनन् क्षेत्र नम्बर २(१) मा माओवादी तर्फबाट उम्मेदवार बनेका गणेश उप्रेती सुशिलले पनि चुनाव हारे । उप्रेतीले तत्कालीन अवस्थामा चुनाव हार्नुको एउटा कारण पोखरेल निकट युवाहरुले गठबन्धनका उम्मेदवारप्रति फैलाएको अफवाह मुख्य कारण थियो । उप्रेतीको जितले भविष्यमा उक्त क्षेत्र सँधैका लागि गुम्नसक्ने चिन्ताले पोखरेलले त्यतिबेला दोहोरो भूमिका खेलेका थिए । जसले क्षेत्र नम्बर २(२) तर्फ गठबन्धनका उम्मेदवारले जित्दा प्रतिनिधि सभा र प्रदेशसभा २(१) का दुवै उम्मेदवार पराजित भएका थिए ।
चुनाव हारेपछि पोखरेलले पाँच वर्ष क्षेत्रलाई पूर्णरुपमा बेवास्ता गरेको आरोप स्थानीयले लगाइरहेका छन् । स्थानीय योगेन्द्र खड्काले भने ‘चुनावमा हारजित हुन्छ, हारेपछि पनि जनताको काम गर्नुपर्छ तर उहाँले हारेपछि क्षेत्रसँग प्रतिशोध नै साँध्नुभयो । पाँच वर्षमा क्षेत्रमा एउटा विकासका योजनाको पहल गर्नुभएन, जिल्नेले काम गर्छ भन्दै प्रतिशोध साँधेर बस्नुभयो ।’ पोखरेल माथि विकास योजना नल्याएको आरोप मात्र छैन उनैले अगाडि बढाएको जिपी मार्गमा डा. मिनेन्द्र रिजालले बजेट ल्याएर शिलान्याससमेत गरिसकेको काममा भाँजो हालेर विकास रोकेको आरोप पनि छ । त्यसले पनि यस पटक चुनावी अभियानमा पोखरेल आरोप खण्डन गर्नमै बढी समय खर्चिरहेका छन् ।
सँगै चुनाव हारेका प्रदेशसभा तर्फ गठबन्धनका उम्मेदवार गणेश उप्रेतीप्रति भने स्थानीयले यस पटक सहानुभूति राखेको पाइएको छ । त्यस क्षेत्रको विकासमा स्थानीयसँग समन्वय गर्ने, प्रदेश सरकारबाट सडक, कुलो, लगायतका योजनाहरु लगेर काम गरेका कारण स्थानीयहरु उनीप्रति सकारात्मक बनेका हुन् ।
सामाजिक प्रभाव भएकाहरु नेकपा एसमा
२०७४ सालमा मोरङ क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट चुनाव परिचालन समितिका संयोजक भएर काम गरेका तत्कालीन एमाले नेता चन्द्रबीर राई यतिबेला नेकपा एकीकृत समाजवादीमा सक्रिय बनेका छन् ।पुराना र सादगी नेताको परिचय बनाएका राईको त्यस क्षेत्रमा राम्रो प्रभाव छ । उनीमात्र होइन समुदायसँग राम्ररी भिजेका एमालेका तत्कालीन वडाध्यक्ष टंक ढकाल, युवराज पौडेल जस्ता नेताहरु एकीकृत समाजवादीमा लागेपछि त्यस क्षेत्रमा एमालेले जित्नका लागि निकै ठूलो मिहिनेत गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ इटहराका युवाहरुले समूहनै बनाएर डिबी कार्की हराउ अभियान पनि चलाइरहेका छन् । जसले नेकपा एमालेका उम्मेदवारहरुलाई चुनावी माहौल आफ्नो पक्षमा ल्याउन निकै चुनौती थपिएको छ ।
गठबन्धनको पक्षमा माहौल
मंसिर ४ आउन १५ दिन बाँकी छ । यस अवधिमा चुनावी माहौलमा पनि उत्तारचढाव आउने निश्चित छ । तर यतिबेलासम्मको अवस्थामा मोरङ क्षेत्र नम्बर २ को चुनावी माहौल गठबन्धनको पक्षमा देखिएको स्थानीयहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता चन्द्रवीर राई भन्छन् ‘अहिलेसम्म मोरङ २ गठबन्धनको पक्षमा छ र यो अझ सुधार भएर जाने क्रममा छ ।