हिपमत डटकम

बुधबार, आश्विन २६, २०७९ || 9716  पटक पढिएको

लहान । सिरहाको दुई निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुनेभएको छ । क्षेत्र २ र ३ मा पूर्वमन्त्रीहरू आमनेसामने चुनावमा उत्रेपछि कसले बाजी मार्ला भन्न अहिले हतार हुने भए पनि चुनावी प्रतिस्पर्धा भने रोचक हु्ने देखिएको छ ।

सिरहा–२ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेत्री तथा पूर्वशिक्षामन्त्री चित्रलेखा यादव र एमाले–जसपा तालमेलबाट पूर्व सूचना सञ्चार तथा सञ्चारमन्त्री राजकिशोर यादव चुनावी मैदानमा उत्रिनु भएको छ । यस क्षेत्रमा धनगडीमाई नगरपालिका, गोलबजार नगरपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका र नवराजपुर गाउँपालिका पर्छन् भने दक्षिणमा भारतीय सीमा र उत्तरमा चुरेको फेदसम्म रहेको छ ।

सुखीपुर नगरपालिका र धनगडीमाई नगरपालिकामा २०७९ को स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले जित हासिल गरेको छ भने बरियारपट्टी, नवराजपुर र औरहीमा जनता समाजवादी पार्टीले जितेको छ । हरेक पालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)को मत जोड्दा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट पत्रकार तथा लेखक रामरिझन यादव स्वतन्त्र उम्मेदवार बन्नु भएपछि यस पटकको चुनाव झन् रोचक बन्न थालेको युवा पत्रकार मुकेश यादवले बताउनुभयो । स्वच्छ छवि र समाजमा ठूलो योगदान रहेका पत्रकार यादवको उम्मेदवारीले त्रिकोणात्मक प्रतिस्पर्धा हुने आकलन पनि गरिएको छ ।

यसैगरी सिरहा–३ मा नेकपा एमाले–जसपा गठबन्धनबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री लिलानाथ श्रेष्ठ र सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री विश्वनाथ साहबीच कडा प्रतिस्पर्धा हुनेभएको छ । यस क्षेत्रमा सिरहा नगरपालिका, गोलबजार नगरपालिका र नरहा, विष्णुपुर र अर्नमा गाउँपालिका छन् । सबै पालिकामा नेकपा एमालेले २०७९ को स्थानीय चुनावमा जित हासिल गरेको आधारमा श्रेष्ठको जित हुने अड्कल गरिँदैछ भने चारै पालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को मत पनि त्यही हाराहारीमा रहेकोले विश्वनाथ साहको अवस्था पनि जित उन्मुख रहेको चुनावी जोड घटाउ सुरु भएको छ ।

सिरहाका चारवटै निर्वाचन क्षेत्रमध्ये २ र ३ बढी चर्चामा छन् भने सिरहा–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरी र नेकपा एमालेका रामशङ्कर यादव, सिरहा–४ मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का पूर्व सामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह र एमाले–जसपा गठबन्धनबाट जसपाका नेता डा. वीरेन्द्र महतो प्रतिस्पर्धामा हुनुहुन्छ । यता सिरहा–२ को (ख) बाट पूर्व पर्यटन राज्यमन्त्री शत्रुधन महतो जसपा परित्याग गरेर एमाले प्रवेश गरी प्रदेश सभाका लागि मनोयन दर्ता गराउनुभएको छ भने सिरहा–२ को (क) प्रदेशबाट पूर्व बिना विभागीयमन्त्री जसपा नेता राजलाल यादव प्रदेश सभाको लागि स्वतन्त्र उम्मेदवार हुनुभएको छ ।

यो खबर गोरखापत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!