कोरोना भाइरसको नाममा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । सोही नाममा उपभोक्तासँग महँगो शुल्क लिने, बिलबिजक नदिने प्रवृत्ति बढ्दै गएको हो । उपभोक्ता ठगेकै कारण वाणिज्य विभागले बुधबार र बिहीबार दुईओटा ठूला कारबाही गरेको छ ।
विभागले वीर हस्पिटल परिसरमा रहेको आयुष फार्नेसीलाई दुई लाख जरिवाना गरेको छ भने कमलपोखरीको विग मुभिजलाई २ लाख ५० हजार रुपैंया कारबाही गरेको छ । यी दुवै फर्मलाई अनुचित व्यापारिक कारोबार गरिएको भन्दै कारबाही गरिएको विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए ।
सेवाग्राहीलाई महँगो शुल्क लिएको, बिलबिजक जारी नगरेको र सुविधा उल्लेख गरेर पनि उपलब्ध नगराएको देखिएका संरक्षण विभागले कारबाही गर्ने गरेको छ । पछिल्लो समय भने कारोना भाइरसको प्रकोप देखिएपछि सोही नाममा महँगी बढेको भन्दै चर्को शुल्क लिने प्रवृत्ति बढेको पाइएको विभागले जनाएको छ ।
विभागले दुई दिनमा मात्रै ७ ओटा फर्मलाई ४ लाख ९५ हजार जरिवाना तिराएको छ । जसमा यी दुई कम्पनीका अतिरिक्त केही सर्जिकल फर्महरु छन् । विभागले क्षेत्रपाटीको एसजे मेडिकललाई २० हजार, महाबौद्धको आरएफ फार्मेसीलाई १० हजार, त्रिपुरेश्वरको खनाल सर्जिकल, अर्जना सर्जिकल र फिस्टेल सर्जिकललाई ५÷५ हजार रुपैंया जरिवाना गराएको छ ।
कोरोना भाइरसका कारण औषधीको आपूर्तिमा अहिले समस्या देखिए पनि बजारमा औषधीको पर्याप्त स्टक छ । तर व्यवसायीहरु भने यही नाममा उपभोक्ता ठग्दै आएका छन् ।